Monday, January 6, 2020

साढे १० लाख स्मार्ट लाइसेन्स बाँडियो, जाँच्ने मेसिन छैन


२१ पुस, काठमाडौं । हालै नक्कली स्मार्ट लाइसेन्स बनाउने एउटा गिरोह प्रहरीले पत्ता लगायो। सातदोबाटोमा एक सवारीचालकको साथबाट बरामद भएको लाइसेन्स नक्कली प्रमाणित भएपछि त्यस्तो कार्ड पि्रन्ट गरी विक्री गर्ने गिरोहसम्म प्रहरी पुगेको थियो ।
यस प्रकरणमा न्यूरोडस्थित पुरानो फोटो स्टुडियो फोटो कन्सर्नका ४ जनासहित ६ जनालाई पक्राउ परेका छन् । प्रहरीले यस्ता शंकास्पद स्मार्ट लाइसेन्स भेट्न थालेको २ वर्षभन्दा बढी भइसकेको छ । तर, अझै पनि स्मार्ट लाइसेन्सको परीक्षण गर्ने मेसिन ड्यूटीमा बस्ने ट्राफिक प्रहरीलाई उपलब्ध गराइएको छैन ।
सरकारलेहालसम्म झण्डै साढे १० लाख स्मार्ट सवारीचालक अनुमतिपत्र वितरण गरिसकेको छ । तर, ती स्मार्ट लाइसेन्स परीक्षण गर्न ट्राफिक प्रहरीसँग जम्मा दुईवटा रिडर मेसिन छन् । त्यो पनि महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा मात्रै । दुरुस्त देखिने नक्कली कार्डलाई आँखाले नियालेको भरमा पहिचान गर्न सम्भव हुँदैन । कतिपय अवस्थामा शंकास्पद लागे पनि फिल्डमा लाइसेन्स जाँच्ने मेसिन उपलब्ध नहुँदा त्यसै छाड्न ट्राफिक प्रहरी बाध्य छ ।
महाशाखाका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठ आँखाले हेर्दा र छाम्दा शंकास्पद ठहराएका लाइसेन्स ट्राफिक प्रहरीले बरामद गरेर बग्गीखानामा पठाउने गरेको बताउँछन् । स्मार्ट लाइसेन्स रिड गर्ने हाते मेसिन अब ट्राफिक प्रहरीका सबै युनिटमा अनिवार्य भइसकेको उनको भनाइ छ ।
‘सबै युनिटमा जाँच्ने मेसिन नहुँदा बरामद भएको शंकास्पद लाइसेन्स लिएर महाशाखामा धाउनुपर्ने अवस्था छ,’ उनले भने, ‘सबै युनिटमा यस्तो मेसिन अत्यावश्यक भइसक्यो ।’
काठमाडौं उपत्यकामा मात्रै ट्राफिकका ४४ वटा युनिट छन् । अन्य सबै जिल्लामा कम्तिमा एउटा युनिट छन् ।
विभागका निर्देशक तथा प्रवक्ता तीर्थराज खनाल विभागका तर्फबाट कमजोरी भएको स्वीकार्छन् । विभागमा यस्तो जाँच्ने मेसिन आएर पनि थन्किएर बसेको उनले बताए ।
‘जाँच्ने केही मेसिन आएको छ, तर त्यसमा सफ्टवेयरको समस्या छ भन्ने सुनेको छु,’ उनले भने, ‘यति धेरै लाइसेन्स वितरण गरिसक्दा पनि जाँच्ने मेसिन उपलब्ध गराउन भएको ढिलाइका विषयमा विभागले अब ध्यान दिन्छ ।’
विभागमा स्मार्ट लाइसेन्स छपाइको जिम्मा लिएको मद्रास पि्रन्टर्सले एकैपटक एक सयवटा जाँच्ने मेसिन ल्याएको थियो । ती मेसिन केही यातायातका लाइसेन्स कार्यालयमा पठाइएको छ । तर, त्यसले सफ्टवेयरको समस्याले काम गरेको छैन । कति मेसिन भने विभागकै गोदाममा थन्किएका छन् । केही मेसिन लाइसेन्स छाप्ने युनिटमा नै प्राविधिकले प्रयोग गरिरहेका छन् ।
विभागले करिब ७ लाख लाइसेन्स वितरणको लागि छपाइको काम गर्दैछ, त्यसका लागि ठूलो मेसिन ल्याएर काम भइरहेको छ । ५ महिनाभित्रै यो छाप्न बाँकी लाइसेन्स सर्वसाधारणको हातमा पुग्ने दावी गरिएको छ ।
नक्कली लाइसेन्सको विगबिगी भएपछि स्मार्ट लाइसेन्स सरकारले प्रयोगमा ल्याएको हो । तर, जाँच्ने मेसिन नै नभएपछि स्मार्ट लाइसेन्स ल्याउनुको औचित्य नै प्रमाणित भएको छैन । वितरण सुरु गर्ने समयमा नक्कली लाइसेन्स ‘अन द स्पट’ पत्ता लगाएर जफत गर्न सकिने भनिएको थियो । ट्राफिक प्रहरीको हात-हातमै ह्यान्ड होल्डरिडर मेसिन दिने भनेको थियो ।
विभागले स्मार्ट लाइसेन्सलाई जाँच्ने सफ्टवेयर, अनलाइन लिंक र हाते मेसिन सबै ट्राफिक प्रहरी युनिटको पहुँचमा नदिँदा समस्या बढेको छ । अहिले ट्राफिकले स्मार्ट लाइसेन्स जाँच गर्न र त्यसैमा कारबाहीको डाटा राख्न पाएको छैन । यसैकारण चालकलाई नियमन र निगरानी गर्न अन्योल भएको महानगरीय ट्राफिक प्रहरी महाशाखा बताउँछ ।
‘कारबाहीको संकेत गर्न स्मार्ट लाइसेन्समा प्वाल पार्न मिल्दैन । त्यसैले हाम्रै सिस्टममा कारवाहीको रेकर्ड राख्छौं,’ प्रवक्ता श्रेष्ठले भने । स्मार्ट लाइसेन्समा भएको ‘चिप्स’मा नै यस्तो कारवाहीको डाटा राख्न सकिन्छ । तर, विभागले स्मार्ट लाइसेन्सको सर्भरमा ट्राफिकलाई पहुँच दिएको छैन ।
अहिले दैनिक रुपमा सक्कली स्मार्ट लाइसेन्स बोक्नेहरु पनि कारबाहीमा पर्ने गरेका छन् । यस्तोमा पनि समस्या परेको, छ ट्राफिक प्रहरीलाई । यस्ता लाइसेन्समा कारवाहीको रेकर्ड राख्न पनि ट्राफिक प्रहरीले आफ्नै सिस्टम प्रयोग गर्नुपरेको छ । राम्रोसँग व्यवस्थित गरियो भने स्मार्ट लाइसेन्सको डाटालाई विभाग र प्रहरीले अनलाइन लिंक र मेसिनमार्फत हेर्न सक्छन् ।
स्मार्ट लाइसेन्समा सीमकार्डमा जस्तै धातुको चिप्स जडान गरिएको हुन्छ । जसमा चालक र सवारीसँग सम्बन्धित डाटाहरु स्टोर हुन्छन् । कुनै सवारी चालक ट्राफिक प्रहरीको कारवाहीमा परेमा त्यसैमा कारवाही भएको रकेर्ड राख्न सकिन्छ ।

National Driving Institute

Author & Editor

This is the first and old driving school in Shuklagandaki municipality It was established in 2064 Bs.One and only one legal institute in Shuklagandaki.

0 comments:

Post a Comment