Friday, January 3, 2020

सवारीसाधन एसेम्बलिङका १८ उद्योग

नेपालमा सवारी उत्पादन गर्न उद्योग विभागमा ६ अर्ब ३४ करोड ३३ लाख रुपैयाँ बराबरको १८ वटा उद्योग दर्ता भएका छन्। यस्तै कोरियन कम्पनी मोट्रेक्स पनि नेपालमा सवारी उत्पादन गर्ने भन्दै नेपाल लगानी बोर्डसँग सम्झौता गरिसकेको छ। कोरियन कम्पनी मोट्रेक्सले १० अर्ब ५४ करोड रुपैयाँको लगानीमा सवारी साधन उत्पादन कम्पनी स्थापना गर्न लगानी बोर्डसँग गत महिना सम्झौता गरेको हो। यो पुँजी भित्रिएसँगै नेपालमा सवारी साधन उत्पादन गर्ने १९ वटा उद्योगमा १६ अर्ब ५७ करोड रुपैयाँ लगानी पुग्नेछ। यीमध्येमा मोट्रेक्स र लक्ष्मी मोटर कर्पोरेसनले मात्र अर्ब रुपैयाँमाथिको पुँजी छ। मोट्रेक्सको १० अर्ब ५४ करोड रुपैयाँ र लक्ष्मी मोटरको पाँच अर्ब १० करोड रुपैयाँ छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता दिनेश भट्टराईले मुलुकमा व्यवसाय गर्न सकारात्मक वातावरण भएकाले सवारी उत्पादन गर्ने कम्पनी दर्ता हुने क्रम बढेको बताए। ‘सरकारले लगानी प्रोत्साहन गर्ने नीति लिएको छ। त्यसैअनुरूप ऐन, कानुन निर्माण भइरहेका छन्। हुने क्रममा छन्’, भट्टराइले भने, ‘व्यवसायीले लगानी सुरक्षित हुने देखेर लगानी गर्ने भएका हुन्।’ चार वर्षदेखि मुलुकले ६ अंकभन्दा धेरैको आर्थिक वृद्धि हासिल गरेको छ। नेपालमा लगानीमैत्री वातावरण निर्माण भइरहेको छ। २०७४/७५ मा मुलुकभर चार लाख ३७ हजार सवारी साधन दर्ता भएका थिए। मोटरसाइकल तीन लाख ४१ हजार, ६ सय २३ वटा तथा कार, जिप र भ्यान २४ हजार तीन सय ३८ वटा दर्ता भएका छन्। ०७३/०७४ मा चार लाख ४४ हजार, ०७२/०७३ मा तीन लाख ३७ हजार सवारी साधन दर्ता भएका छन्। पछिल्लो तीन वर्षमा नेपालमा प्रत्येक वर्ष करिब चार लाख हाराहारीमा नयाँ सवारी भित्रिरहेका छन्। यसले पनि नेपाल सवारीका लागि राम्रो बजार भएको देखाउँछ। छिमेकी मुलुक भारतको तुलनामा नेपालमा बिक्री हुने सवारीसाधनको मूल्य तीन गुणाभन्दा महँगो पर्छ। महँगो मूल्यका कारण सवारी चढ्ने चाहनाका बाबजुद धेरैले सुविधा उपभोग गर्न पाइरहेका छैनन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका सचिव अनुपकुमार बरालका अनुसार स्वदेशमै सवारी उत्पादन हुन सके सवारीको मूल्य आयातितभन्दा तुलनात्मक रूपमा सस्तो हुनेछ। सवारी साधन उत्पादकले सरकारसँग अन्तःशुल्कमा केही छुट माग गरिरहेका छन्। तर, सरकारले भने आयातित वस्तु र स्वदेशमा उत्पादित वस्तुमा अन्तःशुल्कमा विभेद गर्न नपाइने विश्वव्यापी नियमलाई अवरोध देखाउँदै आएको छ। सवारी आयात गर्दा करिब २४५ प्रतिशतसम्म कर जोडिन्छ। उच्च करका कारण सवारी महँगो छ। नेपालमा सवारी उत्पादन गर्न दर्ता भएका धेरै कम्पनीले सवारीको पुर्जा बाहिरबाट ल्याउनुपर्ने अवस्था छ। अहिले सीकेडी (कम्प्लिट नक डाउन) पाट्पुर्जा जोडेर सवारी निर्माण गर्ने उद्योग दर्ता छन्। यो भनेको सवारी उत्पादनका लागि अघि सारिएको पहिलो चरण हो। कम्पनीको संख्या वृद्धि हुने क्रमसँगै स्वदेशी कम्पनी पनि सवारीको पाटर््स उत्पादन गर्न सुरु गर्नेछन्। यसका लागि सरकारले सहयोग गर्नुपर्ने हो।
  प्रोत्साहनको आवश्यकता
 उद्योग विभागमा दर्ता भएका कम्पनीमध्ये गोल्छा अर्गनाइजेसनअन्तर्गतको हुलास अटोक्राफ्टले करिब दुई वर्षदेखि स्वदेशमै सवारी उत्पादन गरिरहेको छ। अटोक्राफ्टले २०७१ असोज ८ गते उद्योग विभागमा २४ करोड रुपैयाँ पुँजीको कम्पनी दर्ता गराएको हो। यो कम्पनी नवलपरासीको रामग्राम नगगरपालिकामा छ। अटोक्राफ्टले १२५ सीसीको बजाज डिस्कभरको उत्पादन गरिरहेको छ। तर, अहिलेसम्म पनि कम्पनीले आधिकारिक रूपमा नेपालमा उत्पादन भइरहेको मोटरसाइकल भनेर बिक्री गर्न सकेको छैन। धेरै सवारी विदेशमा उत्पादन हुन्छन्। ‘नेपालको उत्पादनमा धेरैको विश्वास नहुन सक्छन्’, एक अटो व्यवसायीले भने, ‘यसले गर्दा पनि अटोक्राफ्टले स्वदेशी उत्पादन बन्न डराइरहेको छ।’ गोल्छा अर्गनाइजेसनअन्तर्गतको हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि भारतमा उत्पादन हुने बजाज मोटरसाइकल नेपालमा बिक्री गर्दै आएको छ। यसअघि केही वर्ष पहिले अन्नालिफान मोटरसाइकलको पनि नेपालमा एसेम्बल भएको थियो। यसको उत्पादन बन्द भइसकेको छ। गोल्छा अर्गनाइजेसनअन्तर्गत हुलास मोटर्स कम्पनीले नेपालमै मुस्ताङ ब्रान्डमा गाडीको एसेम्बल सुरु गर्यो। स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीकालमा हुलास मोटर्सले उत्पादन गरेको मुस्ताङ म्याक्स प्रयोग गरेका थिए। तत्कालीन समयमा मुस्ताङ म्याक्सले निकै चर्चा बटुले पनि पछि सरकारले जारी गरेको प्रदुषण मापदण्ड पूरा गर्न नसकेर उक्त उत्पादन बन्द भयो। उत्पादन बन्द हुनुअघि हुलास मोटर्सले मुस्ताङ १६ देखि १८ लाखसम्ममा बिक्री गर्दै आएको थियो। २०६९ देखि सरकारले सवारीसाधनमा लागू हुँदै आएको प्रदुषण स्तर (युरो स्ट्यान्डर्ड) युरो १ बाट युरो ३ लागू गर्‍यो। जसका कारण नेपालको पहिलो चारपांग्रे सवारी मुस्ताङ म्याक्सको उत्पादन बन्द गर्नुपरेको कम्पनीले जनाएको छ। त्यसपछि हुलास मोटर्सले नेपालमा विद्युतीय गाडी उत्पादनमा केन्द्रित गरेको छ। युरो ३ मा जान प्राविधिक रूपमै समय लाग्ने भएकाले समय माग गर्दा सरकारले नेपालमा उत्पादन भइरहेको सवारी कम्पनी आयात हुने सवारी सरह नै व्यवहार गर्‍यो। यस्तो अवस्था नयाँ एसेम्बलिङ कम्पनीलाई गरिनु नहुने उद्योगीले बताएका छन्। ‘आयातलाई भन्दा स्वदेशमै उत्पादन वा एसेम्बल हुनेलाई प्राथमिकता दिने सरकारको स्पष्ट नीति हुनुपर्छ’, सवारीसाधन एसेम्बलिङ उद्योग खोल्ने तयारीमा रहेको एक उद्योगीले अन्नपूर्णसँग भने। सरकारले स्वदेशमै उत्पादन हुने सवारीका लागि प्रोत्साहन गर्न नसक्दा यस्तो समस्या आउने गरेको नाडाका सचिव बराल बताउँछन्। ‘स्वदेशमै उद्योग खुल्नु सकारात्मक हो। सरकारले सधैं सवारी साधनलाई एउटै नजरले हेर्नु हुँदैन। यो अब विलासिताको साधन मात्र हैन। आवश्यकता भइसकेको छ।’ सरकारले सवारीसाधनलाई राजस्वको प्रमुख स्रोतको रूपमा लिने गरेको छ। क्षणिक समयका लागि राज्यको ढुकुटी भरिएको देखिन्छ। दीर्घकालीन रूपमा यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्छ। भन्सारमुखी राजस्वका कारणले नै विदेशी रकमको सञ्चय घट्नुका साथै बैंकमा लगानीयोग्य पुँजीको अभाव बारम्बार देखिने गरेको छ।
 ‘स्क्रु ड्राइभर’ प्रविधिबाट माथि उठ्नुपर्छ
 बजाजको मोटरसाइकल नेपालमा सीकेडीबाट उत्पादन हुने गरेको छ। सबै वस्तु आयात गरेर सवारी उत्पादन गर्दा आयातित सवारीसँग प्रतिस्पर्धा गर्न पनि ग्राहो हुन्छ। स्वदेशमै एसेम्बिलङ गर्न आवश्यक पाटर््स पुर्जा आयातमा निश्चित समयका लागि सहुलियत पूर्ण भन्सारको व्यवस्था गर्नुपर्ने सचिव बराल बताउँछन्। मुलुकमा करिब दुई दर्जनभन्दा धेरै सवारीसाधन एसेम्बलिङ गर्ने उद्योग दर्ता भएका छन्। यीमध्ये धेरै दर्ताका लागि दर्ता मात्र छन्। मुलुकमा व्यावसायिक वातावरण निर्माण हुने आशमा यी उद्योग दर्ता भएका हुन्। विश्वका धेरै देशले सीकेडीबाटै नै सवारी उत्पादन थालेका हुन्। बढ्दो प्रतिस्पर्धासँग क्रमिक रूपमाएसकेडी (सेमी नक डाउन) स्वदेश पूर्जाबाट उत्पादन सुरु हुन्छन्। यसका लागि सरकारले केही समय पार्टसको भन्सारमा छुट दिनै पर्छ। विस्तारै क्रमिक रूपमा स्वदेशमा उत्पादन हुने कच्चा पदार्थको प्रयोग गराउनेतर्फ जोड दिनुपर्छ। सीमित राजस्वको लोभमा उद्योग सञ्चालनमा रोक लगाउनु हुँदैन। नाडा अटो सोको उद्घाटनको क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले २० प्रतिशतभन्दा धेरै मूल्य अभिवृद्धि (भ्यालु एडिसन) गर्ने एसेम्बल गर्ने उद्योगलाई प्रोत्साहन गर्ने बताएका थिए।
मुलुकले अटो क्षेत्रबाट ठूलो परिणाममा राजस्व असुली गर्दै आएको छ। उनले २० प्रतिशत पनि मूल्य अभिवृद्धि गर्न नसक्ने उद्योगलाई सरकारले प्रोत्साहन गर्न नसकिने पनि बताएका थिए। सवारीको पाट्पूर्जा जोडेर मात्र २० प्रतिशत मूल्य अभिवृद्धि हुन नसक्ने अटोमोबाइल्स व्यवसायीको भनाइ छ। एसेम्बलिङ उद्योगबाट नै मुलुक औद्योगिकीकरणमा प्रवेश गर्ने भएकाले सरकारले केही समय घाटा सहेर भए पनि प्रोत्साहन गर्न व्यवसायीले माग राख्दै आएका छन्।
लगानी भित्र्याउने अवसर
कोरियन कम्पनी मोट्रेक्सले नेपाली सवारी उत्पादन गर्ने तयारी गरिरहेको छ। कोरियन कम्पनीले सवारी उत्पादनका लागि साढे १० अर्ब रुपैयाँ लगानी भित्र्याउने तयारी गरेको छ। हालसम्म नेपालमा सवारी उत्पादन गर्नेगरी दर्ता भएका सम्पूर्ण कम्पनीको पुँजीको तुलनामा यसको लागत धेरै छ। सरकारले वैदेशिक लगानीलाई प्रोत्साहन गर्ने नीति नै लिएको छ। अघिल्लो वर्षको चैतमा सरकारले वैदेशिक लगानी भित्र्याउन लगानी सम्मेलनको आयोजना गरेको थियो। मोट्रेक्सको लगानीले अन्य देशका लागानीकर्तालाई पनि मार्ग प्रशस्त गर्नेछ। मोट्रेक्सले सवारी उत्पादनका लागि लगानी बोर्डमा प्रस्ताव पेस गरेको केही समयपछि त्यसको सकारात्मक प्रभाव देखिएको छ।
हुन्डाईका चारपांग्रे सवारी नेपालमा बिक्री गर्ने लक्ष्मी हुन्डाईको भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसन प्रालिले सवारी उत्पादन गर्न लागेको हो। नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ६ मा स्थापना गरिनेछ। ५ अर्ब १० करोड लागत लाग्ने बताइएको छ। चुक्ता पुँजी १३ करोड रुपैयाँ छ। कार्यशील पुँजी २ अर्ब ९६ करोड ६० लाख रुपैयाँ छ। वार्षिक ८ हजार उत्पादन गर्ने लक्ष्य लिइएको छ।

National Driving Institute

Author & Editor

This is the first and old driving school in Shuklagandaki municipality It was established in 2064 Bs.One and only one legal institute in Shuklagandaki.

0 comments:

Post a Comment